भिजिट भिसामा विदेश पठाउँदा विमानस्थलका कर्मचारीलाई ५० हजार ‘घुस’

  • कालिका खवर
  • बुधबार, मंसिर २७, २०८०
  • काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा नेपालीहरुलाई खाडी मुलुकमा पठाउने गिरोहसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अधिकृतहरुको ‘मिलेमतो’ हुने गरेको भेटिएको छ । ‘घुस’ लिएर १२ कक्षाको नक्कली सर्टिफिकेटका आधारमा विदेश पठाएको आरोपमा प्रहरीले विमानस्थलमा कार्यरत ४ जना अधिकृतलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरबिर खड्का र नेपाल वायुसेवा निगममा कार्यरत ३ जना अधिकृत छन् । वायुसेवा निगममा कार्यरत अधिकृतहरु अरबिन्द यादव, विश्वनाथ कोइराला र होमनाथ पोखरेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रविन्द्र रेग्मीले  बताए ।

    ६ वटा ट्राभल्सका सञ्चालकहरुलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेहरुको संख्या ३२ पुगेको छ । विमानस्थल अध्यागमन कार्यालय र वायुसेवा निगमका कर्मचारीले ‘गिरोह’ सँग ४० देखि ५० हजार रुपैयाँसम्म घुस लिएर ‘सेटिङ’मा सर्वसाधारणलाई विदेश पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।पहिलोपटक जान लागेकाहरुसँग कर्मचारीले ५० हजार र पुराना यात्रुसँग ४० हजार ‘घुस’ लिने गरेको भेटिएको अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीले जानकारी दिए । बुधबार आयोजित पत्रकार सम्मेलनमा पन्थीले भने, ‘अध्यागमनबाट पार गराउन कर्मचारीले नयाँलाई ५० हजार र पुरानासँग ४० हजार लिने गरेको भेटिएको छ ।’

    अनट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरीले नेपाल एयरलाइन्सका वरिष्ठ सहायक अरबिन्द्र यादवलाई पटकपटक गरेर १२ लाख दिएको अनुसन्धानबाट थाहा भएको छ ।एसकेआई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र रोलेक्स ट्राभल्सका राम प्रसाद भण्डारीले कर्मचारीहरुलाई रकम दिएको अनुसन्धानबाट थाहा भएको छ । रोलेक्स ट्राभल्समा कार्यरत संजय तामाङ र राजकिशोर साहले पटक पटक गरी नेपाल एयरलाईन्सका अधिकृत होम पोखरेललाई १८ लाख दिएको बयान दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs