कोशीटप्पुमा चराको संख्या घट्यो

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन २२, २०८०
  • कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका संख्या घटेको हो।

    मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ। गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चरा रहेको तथ्याङ्क रहेको छ। बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए।

    गत पुस २५ देखि  २९ गतेसम्म पाँच दिन भएको चरा गणनाको विश्व सिमसार दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिएको हो। कोशीमा सबैभन्दा धेरै ८ सय ४८ को सङ्ख्यामा सिलसिले हाँस फेला परेका छन्। त्यसैगरी उच्च सङ्ख्यामा फेला परेका १० प्रजातिका चरामध्ये चखेवा पाँच सय छ, राज हुटिट्याउ चार सय ५५, जलेवा चार सय ४५, वस्तु बकुल्ला तीन सय ७६, सानो जलेवा तीन सय ७१, कर्रा सवारी दुई सय ५७, लामाऔँले दुई सय २२, आसकोटे बकुल्ला दुई सय १० र जलरङ्ग एक सय ८७ फेला परेका छन्।
    पानीमा आश्रित चरालाई सिमसार संरक्षणको अभाव हुनुका साथै आहाराको कमीले चराको संख्या घटेको हुनसक्ने कोशी पक्षी समाजका अध्यक्ष चक्र तिम्सिना बताउँछन्।

    ‘मानव बस्ती र मानवीय व्यवहारले हैरानी खेप्नु नै मुख्यरूपमा पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ,’ उनले भने।

    उनका अनुसार रसिया, साइबेरियालगायतका मुलुकबाट जाडो छल्न आउने पर्यटक चरा खेल्ने सिमसारमा मोटरबोट सञ्चालनमा आउनाले पनि चराको सङ्ख्यामा कमी आएको बताउँछन्।

    कोरोनाले विश्व आक्रान्त बनेको समय सन् २०१९ को गणनामा कोशीमा चराको सङ्ख्या अत्याधिक बढेर नौ हजार दुई सय ८९ पगेको थियो। यस समयमा मनाव चहलपहल कम हुनाले सिमसार खोलानालामा चराको सङ्ख्या बढेको हुनसक्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs