बालेनको काम गराई देखेर राजनीतिक दलहरुमा तरङ्ग, पर्दाभित्र बसेर आफ्ना कार्यकर्ता र फुटपाथ व्यवसायीलाई उचाल्दै

  • कालिका खवर
  • शुक्रबार, चैत्र २, २०८०
  • अनुसा थापा, भक्तपुर । राजनीतिक दलदेखि सरकारी कर्मचारी, व्यापारी, आम सर्वसाधारण सबै सरकारी सम्पत्ति दोहन गर्नतर्फ लागेका छन् । कसरी हुन्छ, सरकारी सम्पत्ति आफ्नो मुठ्ठीमा ल्याउनै छ । नेता र सरकारी कर्मचारी सरकारी जग्गा हडप्ने, यातायात व्यवसायी बाटो कब्जा गर्ने, व्यापारी कर तिर्ने ।
    यसरी राज्य लुट्ने काम भइरहेको छ । यतिबेला काठमाडौं महानगरपालिकामा एउटा घटनाले ठूलो तरङ्ग ल्याएको छ । फुटपाथमा पसल थाप्न नपाउँदा निम्तिएको विवादले चर्को रुप लिएको छ । जबकी फुटपाथ पनि सरकारी सम्पत्ति हो । सरकारी सम्पत्ति लुट्न पाउनुपर्छ भनेर अभियन्ताहरु बाहिर आएका छन् ।
    सरकारी सम्पत्ति कब्जा गर्नकै स्वरोजगार संघसंस्था खोलिएको छ । बाटोमा पसल राख्नका लागि पनि संघसंगठन । राजनीतिक दलको झोले बन्ने पनि एउटा हद हुन्छ । आफूलाई फुटपाथ व्यवसायीको अभियन्ता भन्ने ईः ले उनीहरुको वकालत गर्दै आएका छन् । फुटपाथमा पसलमा थाप्न पाइँदैन् भन्ने तिनलाई थाहा छैन् ?
    फुटपाथ पैदलयात्री हिँड्नका लागि हो, पसल थाप्नका लागि होइन् । त्यति नै माया लाग्छ भने ईः आफैंले रोजगारी दिए भइहाल्यो । फुटपाथ व्यवसायीको पक्षमा बोलेझैं गरेर सस्तो लोकप्रियता कमाउन खोजेका उनको रणनीति कसले बुझेको छैन् ? वास्तविक कुरा के हो भने मेयर बालेन्द्र शाह र महानगर प्रमुख राजुनाथ पाण्डेले काम गरेको देख्दा राजनीतिक दललाई छटपटी भएको छ ।
    भित्रभित्रै राजनीतिक दलहरु जलिरहेका छन् । वर्षौंदेखि मुखले काम गर्दै आएका राजनीतिक दलहरु काठमाडौंको सुधार हेर्न सकिरहेका छैनन् । लामो समयदेखि काठमाडौंमा राजनीतिक दलकै मेयर थिए । अघिल्लो चुनावमा पनि भएजति पार्टीले मेयरमा आफ्ना उम्मेदवार उठाएका थिए ।
    तर, कसैले पत्याएनन् । ६३ हजार १३२ भोटसहित स्वतन्त्रबाट उठेका बालेन मेयरमा निर्वाचित भएका हुन् । काठमाडौंका जनताले बालेनलाई आफ्नो अभिभावक चुनेका हुन् । यसमा राजनीतिक दल र फुटपाथ व्यवसायीको कुनै हात छैन् । काठमाडौंबासीले आफ्नो लागि कसले राम्रो गर्छ भन्ने हेरे र भोट दिए ।
    बालेन आएपछि काठमाडौंमा धेरै सुधार भएको छ । त्यसमा उनको व्यक्तिगत स्वार्थ त जोडिएको छैन् । उनले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । जसका कारण देशभर उनको चर्चा छ । डेढ वर्षको अवधिमा काठमाडौंमा धेरै परिवर्तन देख्न सकिन्छ । यो सबैले महसुश गरेका छन् ।
    पार्किङको समस्याले गिजोलिएको काठमाडौं अहिले खुल्लाखुल्ला भएको छ । बाटोघाटो पनि सफा हुँदै गएको छ । सरकारी जग्गा खोज्ने क्रम जारी छ । राजश्व पनि विगतको तुलनामा धेरै उठेको छ । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई दिइने खाजाको रकम बढाइयो । पहिले आठ कक्षासम्मलाई मात्र खाजा दिइन्थ्यो, अहिले बढाएर १० सम्मलाई दिने गरिएको छ ।
    अण्डरग्राउण्डमा पसल थापिएको थियो । त्यो पनि हटाइएको छ । महानगर प्रहरीहरु जोशजाँगरका आफ्नो जिम्मेवारी पूरा गर्न खटिएका छन् । तारहरु व्यवस्थापन भइरहेको छ । फुटपाथ व्यवसायी हटाएर फुटपाथलाई पैदलयात्रीमैत्री बनाउन खोजिएको छ । काठमाडौंबासी मेयर बालेन र महानगर प्रमुख पाण्डेदेखि खुसी छन् ।
    भने, अरुलाई केको टाउको दुखाइ ? चर्चा कमाउनका लागि जन्मिएका यस्ता ईः, राजनीतिक दलका नेताहरुले जति नै विरोध गरेपनि महानगरको केही उखालिने होइन् । फुटपाथमा पसल थाप्न पाउनुपर्छ भनेर ईः ललितपुर पनि पुगेका थिए । त्यहाँबाट लखेटिएको उनले बिर्सिएजस्तो छ ।
    काठमाडौंबासी मात्र होइन्, देशभर र विदेशमा रहेका नेपालीहरुले बालेनको समर्थन गरिरहेका छन् । समर्थन गर्नुको कारण एउटै छ, उनले काम गर्न खोजेका छन् र गरिरहेका छन् । जनता अब भाषण होइन्, परिवर्तनको खोजीमा छन् । परिवर्तन जसले दिन्छ, उसैको पक्षमा उभिन्छन्, जनता ।
    २०३६ सालमा पञ्चायती र बहुदलीय व्यवस्थाबीच जनमत संकलन भएको थियो । त्यतिबेला प्रधानमन्त्री सूर्यबहादुर थापा थिए । जनताले बहुदलीय व्यवस्था चाहिन्छ भने मतदान गरे । पञ्चायती व्यवस्थाको विपक्षमा धेरै मत आएपछि त्यहाँ चलखेल गरियो । सबै मत फालियो अनि पञ्चायती व्यवस्थाको पक्षमा धेरै मत आयो भनि सार्वजनिक गरियो ।
    त्यसको १० वर्षपछि जनता सडकमा आए । पञ्चायती व्यवस्था हटाइयो, बहुदलीय व्यवस्था आयो । अहिले फुटपाथ व्यवसायी र केही राजनीतिक पार्टीका झोलेले बालेनको विरोध गरिरहेका छन् । बालेनलाई राख्ने कि हटाउने ? भनेर जनमत संकलन गर्ने हो भने देशभरका जनताले ‘हटाउने होइन्, बालेनलाई देशको प्रधानमन्त्री बनाउनुपर्छ’ भनेर मतदान गर्छन् ।
    गाउँदेखि शहर, बच्चादेखि बुढासम्मले बालेनले राम्रो काम गरेको बताउँछन् । अधिकांश बालेनको प्रशंसा गरिरहेकै भेटिन्छन् । मुलुकको संघीय राजधानी काठमाडौं हो । तर, यसअघि काठमाडौं कस्तो थियो ? अहिले कस्तो छ ? यो त घामजस्तै छर्लङ्ग छ । घिनलाग्दो काठमाडौं क्रमिक रुपमा सुधार भइरहेको छ ।
    मेयर बालेनले शिर निहुँराउने होइन्, ठाडो बनाउने काम गरे । महानगरले गरेको कामले महानगरबासीको पनि चर्चा भएको छ । राजनीतिक दलहरुको कोठे राजनीतिक स्पष्ट छ । बालेनमाथि हिलो छ्यापेर अर्को चुनावमा काठमाडौंको मेयर आफ्नो हात पारौंला भन्ने उनीहरुको दाउ हो ।
    २०८४ सालको चुनावमा बालेनले फेरि उम्मेदवारी दिए भने २०७९ सालको भन्दा दोब्बर भोट उनले पाउँछन् । पहिलो कुरा के बुझ्न जरुरी छ भने बालेनले काठमाडौंबासीलाई सुविधा दिने हो । उनले काम गर्ने पनि काठमाडौंबासीका लागि मात्रै हो । अन्यसँग उनलाई सरोकार नै छैन् ।
    उनलाई काठमाडौंबासीले जे अधिकार दिएका छन्, उनले त्यही गरेका छन् । भक्तपुर र ललितपुरमा पुगेर उनले फुटपाथ हटाएका होइनन् । आफ्नो नगर क्षेत्र सफासुन्दर र व्यवस्थित बनाउँछुभन्दा उनले नपाउने ? जो जुन जिल्लाबाट आएको हो, त्यही जिल्लाको जनप्रतिनिधिसँग गएर आफ्नो अधिकार माग्नुपर्छ ।
    न महानगरले तिनलाई अधिकार दिने हो न महानगरले उनीहरुको जिम्मेवारी उठाउने हो । काठमाडौंमा भएको सरकारी, गुठीको जग्गा मिच्ने काठमाडौंबासी होइनन् । बाहिरी जिल्लाबाट आएर यहाँको सरकारी जग्गा कब्जा गरेर मिल्छ ? सरकारी जग्गा के–कसरी प्रयोग गर्ने ? त्यहाँ के बनाउने ? यो महानगरको अधिकार हो ।
    फुटपाथ महानगरले पसल थाप्न बनाएको होइन् । यहाँका जनतालाई हिँड्डुल गर्न सहज होस् भनेर निर्माण गरेको हो । अनि त्यहाँ पसल थाप्न पाउनुपर्छ भनेर पाइन्छ ? भोट दिनेहरु चुपचाप छन्, भोट नदिनेहरु उफ्रीउफ्री कराइरहेका छन् । जसलाई भोट दिएको हो, उसैलाई गएर अधिकार माग्नुपर्छ ।
    जुन जिल्लामा जन्मियो, त्यही जिल्लाको नागरिकता बन्छ । मतदान गर्ने पनि त्यही जिल्लामा हो । भत्ता पनि त्यही जिल्लाबाट लिनुपर्छ । कि त बसाइँ सरेको कागज हुनुपर्छ । ७७ वटै जिल्लामा स्थानीय सरकार छ । भोट दिने बेलामा सबैले आफ्ना जिल्लाका प्रतिनिधिलाई भोट दिन्छन् ।
    अनि अधिकारचाँहि काठमाडौं महानगरसँग मागेर हुन्छ ? नागरिकता लिन र मतदान गर्न आफ्नो जिल्लामा जाने, आफ्नो खेतबारीचाँहि बाँझो राख्ने अनि काठमाडौंमा आएर सुकुम्बासीको नाममा सरकारी र गुठीको जग्गा कब्जा गरेर बस्न लाज लाग्दैन् ? बाहिरकै जिल्लाकै मान्छे आएर यहाँ फुटपाथ पसल थाप्ने ।
    जुन जिल्लाको नागरिक हो, त्यही गएर फुटपाथमा पसल थाप्ने हो । त्यहीको सरकारलाई म सुकुम्बासी हो, मलाई जग्गा देऊ भनेर माग्ने हो । यहाँको करोडौंको जग्गा हत्याउन सरकारी जग्गा कब्जा गरेर बसेकाहरुलाई धमाधम कारबाही गर्नुपर्छ । आफ्नो खेतबारी छोडेर यहाँ नजर लगाएकाहरुलाई महानगरले लखेट्नुपर्छ ।
    सुकुम्बासी र फुटपाथ पसलका कारण काठमाडौं अव्यवस्थित भएको छ । अन्य देशको राजधानी हामी सबैले देखेका छौं । काठमाडौंमा विश्वका नागरिक आउँछन् । ७७ जिल्लाकै आम नागरिक आफ्नो काम लिएर आउँछन् । यहाँ सबैको नजर छ । यो कुनै जिल्लाको वडा त होइन् ।
    यसलाई सफासुन्दर र व्यवस्थित बनाउनु त मेयरको दायित्व हो । अबपनि फुटपाथ पसल थाप्न पाउनुपर्छ र सरकारी जग्गा मिच्न पाउनुपर्छ भन्नेलाई धमाधम समाते हुन्छ । विदेशीहरु कहाँ ओर्लिन्छन् ? विमानस्थल त महानगरभित्र छ । नेपालीमा चर्चित उखान छ,‘बाँदरले आफ्नो घर पनि बनाउँदैन्, अरुको पनि बिगारिदिन्छ ।’
    राजनीतिक दलहरु त्यस्तै भए । सस्तो लोकप्रियता कमाउनका लागि राजनीतिक दलहरु नउफ्रेपनि हुन्छ । जनताले सबैको अनुहार देखेका छन् र राम्रोसँग चिनि पनि सकेका छन् । जसलाई हकअधिकार चाहिन्छ, आफ्नो जिल्लाका प्रतिनिधिसँग मागे हुन्छ । काठमाडौंलाई फोहोर, अव्यवस्थित र कुरुप बनाउने अधिकार कसैलाई पनि छैन् ।
    काठमाडौंबासी अब रमिता हेर्ने होइन्, फुटपाथ व्यवसायीको नाममा कोही उत्रिए भने छोड्नुहुँदैन् । व्यक्तिगत स्वार्थका लागि महानगर प्रहरी खटिएका होइनन् । फुटपाथमा पसलका कारण कतिले ज्यान गुमाए ? यसको लेखाजोखा छ ? आफू पैसा कमाउने अनि अरुलाई मार्ने ?
    अनुसा थापा
    भक्तपुर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs