कांग्रेस सांसद शाहीले मागे गृहमन्त्रीको राजीनामा

  • कालिका खवर
  • सोमवार, चैत्र ५, २०८०
  • काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग भएको छ। संघीय संसद अन्तर्गत सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद दिक्पाल कुमार शाहीले गृहमन्त्रीको राजीनामा माग गरेका हुन्। उनले देशभर सहकारी पीडितले जम्मा गरेको पैसा फिर्ता नपाएको भन्दै नियमविपरित सहकारीको पैसा गृहमन्त्रीले नै लिएको आरोप लगाए।

    ‘देशभरी सहकारी पीडितले जम्मा गरेको पैसा फिर्ता नपाएर चिच्याइरहेका छन्। सहकारीमा नियमविपिरित गृहमन्त्रीज्यूले लिनुभएको र अनुसन्धान गर्ने तालुक मन्त्रालयमा आफैँ बसेको आरोप छ। पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न गृहमन्त्रीज्यूले राजीनामा गरी सहयोग गर्न माग गर्दछु,’ उनले भने।

    उनले गृहमन्त्री लामिछानेले कांग्रेसलाई पढाउन खोजेको भन्दै केही विषय नसिकाउन समेत आग्रह गरे। ‘गृहमन्त्रीज्यूले नेपाली कांग्रेसलाई पढाउन खोज्नुभएको रहेछ। डबल नागरिकता, पासपोर्ट, सहकारी ठग्न र सुन तस्करसँग साँठगाँठ गर्न नसिकाउनुहोला,’ उनले भने।

    साथै, उनले सत्तारुढ नेकपा माओवादी केन्द्र सुन पार्टी बन्दै गएको भन्दै कटाक्ष समेत गरे। गृहमन्त्री लामिछाने सभापति रहेको दल रास्वपाले भने कांग्रेसलाई पानीबिनाको माछाजस्तो नतड्पिन आग्रह गरेको छ। रास्वपा सांसद अशोक कुमार चौधरीले गृहमन्त्री समेत रहेका पार्टीका सभापति रवि लामिछानेमाथि जनताको मत र विश्वासको कदर गर्न आग्रह गरे।

    ‘सत्ताका लागि पानीबिनाको माछाझैँ नतड्पिन आग्रह गर्दछु। माननीय रवि लामिछानेमाथि जनताको मत विश्वासको इज्जत र कदर गरौँ। उहाँलाई उपप्रधान तथा गृहमन्त्रीको रुपमा स्वीकार गरौँ,’ उनको आग्रह थियो। आजकै बैठकमा कांग्रेस महामन्त्री गगन कुमार थापाले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा नाम मुछिएको भन्दै अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs