वीरगञ्जमा राजेशमानको समर्थनमा ओर्लियो जनलहर

  • कालिका खवर
  • सोमवार, बैशाख १२, २०७९
  • वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) को मनोनयन दर्ता गर्दा वीरगञ्जमा भब्य जनलहर देखिएको छ ।

    सत्ता गठबन्धनको निर्णयबमोजिम मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्जमा जसपालाई भाग परेपछि जसपाबाट मेयरका उम्मेदवार राजेशमान सिँहको मनोनयन दर्ता गर्दा वीरगञ्जमा मानव सागर ओर्लिएको हो ।

    सिँहको मनोनयन दर्ता गर्न जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव पनि वीरगञ्ज आएका थिए । अध्यक्ष यादवसँगै मधेश प्रदेशका मुख्यमन्त्री तथा जसपाका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव लगायतका नेताहरुको सहभागितामा सिँहले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    वीरगञ्जको आदर्शनगर रंगशालाबाट मनोनयन दर्ताका लागि प्रस्थान गरेको जसपाको जनलहर आदर्शनगर चौक, घडिहर्वा, माइस्थान, घण्टाघर, मुर्ली, श्रीपुर, पावर हाउस हुँदै जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेको थियो । दश हजारभन्दा बढीको जनसहभागितामा सिँहले मेयरमा मनोनयन दर्ता गरेका हुन् ।

    बाजागाजासहित पार्टीको झण्डा र चुनाव चिन्ह अंकित ब्यानरसहित नेता कार्यकर्ताहरु मनोनयन दर्ता गराउन पुगेका थिए ।

    मनोनयन दर्ता गराउन पुगेको जसपाकोे जनलहर देखेर अधिकांशले सिँह अत्यधिक बहुमतका साथ जित्ने अड्कलबाजी गरीरहेका छन् । सिँहले पनि उत्साहजनक उपस्थिती र जनताहरुको प्रेमले आफु नै महानगरको मेयरमा निर्वाचित हुने दावी गरे ।

    वीरगञ्जलाई समृद्ध बनाउन र महानगरमा सुशासन स्थापना गर्नका लागि मेयरमा उम्मेदवारी दिएको सिँहको भनाई छ ।

    त्यस्तै पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले प्रतिगमनलाई परास्त गर्न गरिएको पवित्र गठबन्धन नटुट्ने बताउँदै जसपा र कांग्रेसले मिलेर महानगर हाँक्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs