क्रिकेट मैदान निर्माण अलपत्र

  • कालिका खवर
  • शुक्रबार, पुस २२, २०७९
  • दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माणको काम अघि बढाइए पनि अहिले अलपत्र अवस्थामा छ ।

    अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थाले पनि अहिले बजेटलगायतका कारणले निर्माण अघि बढेको छैन ।

    क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनीयर केशवप्रसाद जोशीले ठेक्कामार्फत क्रिकेट मैदानमा पहिलो चरणमा माटो भरान र ‘चेञ्जिङ रुम’ मा रु ३९ लाख खर्च भएको बताउनुभयो । “त्यसपछि सोही आवमा रु ३३ लाखको माटो भरान उपभोक्ता समितिमार्फत पनि भयो”, इञ्जिनीयर जोशीले भन्नुभयो, “कभर्डहलमा मास्टर प्लानभन्दा बाहिर गएर धेरै संरचना बनेका कारण क्रिकेट मैदान बनाउनमा ठाउँको पहि समस्या रह्यो ।”

    दुई वर्षअघि रु एक करोड रकम क्रिकेट मैदानका लागि आए पनि त्यहाँ माटो भरानबाहेक अरु काम अघि बढ्न सकेको छैन । क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले क्रिकेटमा आएको रकम पोखरी पुर्नमा समेत खर्च भएको देखिन्छ ।

    “क्रिकेट मैदान बनाउने ठाउँमा माछापोखरी विगतमा बनेकाले पोखरी भरानमै अनावश्यक खर्च भयो”, क्रिकेटका एक खेलाडीले भन्नुभयो, “माटो भरानमा लाखौँ खर्च भए पनि यहाँ निर्माण अघि बढाउन सरोकारवाला निकायको चासो देखिँदैन ।” उहाँले विगत लामो समयदेखि राष्ट्रिय टोलीमा कञ्चनपुरका खेलाडी पर्दै आए पनि गृह जिल्लामा क्रिकेट मैदान बनाउने विषयमा भने यहाँ बेवास्ता हुँदै आएको दुखेसो पोख्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs