कान्तिमा इन्डोस्कोपी सेवा पुनः सञ्चालन

  • कालिका खवर
  • शनिबार, पुस ३०, २०७९
  • कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा सुरु गरेको छ । दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले एक महिनादेखि इन्डोस्कोपी सेवा प्रदान गर्न थालिएको जानकारी दिनुभयो ।

    इन्डोस्कोपी मुखदेखि पेटसम्म समस्या पहिचान गर्नका लागि गरिन्छ । सरकारी अस्पताल कान्तिमा मात्र बालबालिकाको इन्डोस्कोपी सेवाको सुविधा रहेको छ ।

    अस्पतालमा इन्डोस्कोपी नहुँदा बाहिर निजी अस्पतालमा बालबालिकालाई उपचारका लागि पठाउनुपर्ने बाध्यता रहेको थियो । “हप्ताको एक दिन मङ्गलबार मात्र इन्डोस्कोपी गर्ने गरिएको छ”, डा बसौलाले भन्नुभयो । अस्पतालले कोलोनोस्कोपी सेवासमेत सुरु गरेको छ ।

    कोलोनोस्कोपीमा दिसा आउने भाग वा मलद्वारबाट पाइप छिराएर मलद्वारको भित्री अवस्था र ठूलो आन्द्राको अवस्था परीक्षण गरिन्छ । यस्तै अस्पतालले कलेजोको बायोस्पी सेवासमेत एक महिनादेखि सञ्चालन छ ।

    बालबालिकामा कलेजोको समस्या हुने भएकाले एक महिनादेखि सेवा सुरु गरिएको कार्यकारी निर्देशक डा बसौलाले जानकारी दिनुभयो । कलेजको मासु बढेको, कलेजोमा केही रोग देखिएमा बालबालिकामा कलेजोको बायोस्पी गर्ने गरिन्छ ।

    तीन सय ३० शय्याको अस्पतालमा दैनिक ६०० भन्दाबढी बालबालिका उपचारका लागि आउने गरेका छन् । एक हजार शय्याको अति विशिष्टीकृत बाल अस्पताल बनाउने योजना रहेको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs