
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने बताएका छन् । वैदेशिक रोजगारीमा भएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न कार्यक्रममा बोल्दै उनले सबैलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रतिबद्धता जनाए ।
सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजना समेत अघि सारेको प्रचण्डले बताए । ‘अहिले परिस्थितिवश, बाध्यतावश बिदेसिनु परे पनि ती सबै नेपालीहरूप्रति उत्तिकै माया र सद्भाव छ । जहाँ रहे पनि नेपालको अर्थतन्त्रलाई योगदान पुर्याउनु भएको छ । देशको विकासमा योगदान पुर्याउनु भएको छ’ प्रचण्डले भने, ‘हामीलाई विभिन्न माध्यमबाट झकझकाउनु भएको छ । बेलाबेला खबरदारी गर्नु भएको छ ।’
योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ ।
कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ ।