बागमती प्रदेश : विश्वासको मतबारे निर्णय गर्न एमाले र कांग्रेसको छुट्टाछुट्टै बैठक

  • कालिका खवर
  • बुधबार, चैत्र ८, २०७९
  • हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न नेकपा एमाले र नेपाली कांग्रेसको संसदीय दलको छुट्टाछुट्टै बैठक अहिले बसिरहेको छ ।

    आजै दिउँसो ३ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको भएपनि हालसम्म  एमाले र कांग्रेस विश्वासको मत दिने वा नदिने भन्ने विषयमा टुंगोमा पुग्न सकेका छैनन् ।

    केही हप्ताअघि केन्द्र सरकारमा राजनीतिक समीकरण बदलिएसँगै बागमतीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेल अल्पमतमा परेका थिए । गएको पुस २६ गते बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन थियो ।

    केन्द्रको समिकरण फेरिए पनि बागमतिमा भने नेकपा एमाले कुनै प्रतिक्रिया नजनाई सरकारमा सहभागी छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा मन्त्रिमण्डलबाट बाहिरिने भन्ने स्पष्ट निर्देशन केन्द्रबाट प्राप्त नभएकाले अन्यौलता भइरहेको एमालेका एक जना माननीयले अन्नपूर्ण पोष्टलाई बताए ।

    एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले भने अहिले संसदीय दलको बैठक बसिरहेको र विश्वासको मत दिने वा नदिने भन्नेबारे बैठकपछि टुंगो लाग्ने प्रतिक्रिया दिए । यता नेपाली कांग्रेसभित्र पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे विवाद देखिएको छ । कांग्रेस प्रदेश समितिले संसदीय दललाई जम्मकट्टेलको पक्षमा मत दिन आग्रह गरेको भएपनि दलका नेता बहादुर सिंह लामाले मुख्यमन्त्री दावी गरेपछि विवाद सिर्जना भएको हो ।

    मंगलबार बसेको कांग्रेस प्रदेश समिति अन्तर्गत कार्यसम्पादन समितिले जम्मकट्टेललाई विश्वासको मत दिन संसदीय समितिलाई निर्देशन दिएको थियो । अहिले बसिरहेको संसदीय दलको बैठकले विश्वासको मतबारे टुंगो लगाउने कांग्रेसका माननीयहरुले बताएका छन् ।

    बागमती प्रदेश सभाका नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी पार्टी,राप्रपा,नेमकिपा र हाम्रो नेपाली पार्टी गरी ७ दलका ११० जना सांसद छन् । मुख्यमन्त्री जम्मकट्टेलकै सरकार यथावत राख्न उनको पक्षमा ५६ मत आवश्यक पर्दछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs