२० वर्षपछि पोखरामा कन्दराको लाइभ कन्सर्ट

  • कालिका खवर
  • बुधबार, पुस २५, २०८०
  • पोखरा । पोखरामा २० वर्षपछि कन्दराको लाइभ कन्सर्ट हुने भएको छ । एक समयको चर्चित र लोकप्रिय व्याण्ड कन्दरा २० वर्षपछि गृह नगर पोखरामै कन्सर्ट गरेर कमब्याक हुन लागेको हो । शुक्रबार पोखराको प्रदर्शनी केन्द्रमा सांगीतिक प्रस्तुति दिने बताइएको छ ।

    पोखरा पर्यटन परिषद्ले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि कन्दरालाई प्रयोग गरेको हो । २ घण्टासम्म कन्दराले डेढ दर्जनभन्दा बढी गीत प्रस्तुत गर्ने कन्दराका गायक विवेक श्रेष्ठले बताए । उनलाई सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन र पंकज झाले साथ दिनेछन् । ‘पहिला घर देश अनि परदेश’ भन्ने नाराका साथ हुने सांगीतिक अभियान नेपालको सातै प्रदेशमा पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । ‘पोखरापछि अरु सहरमा पनि पुग्छौँ । पोखरासहित देशको पर्यटनमा सघाउ पुगोस् भनेर कार्यक्रम गरिएको हो,’ उनले भने ।

    गायक श्रेष्ठ २१ वर्ष विदेशमा बसेर नेपाल फर्किएका हुन् । अब देशकै लागि काम गर्ने उनले सुनाए । ‘कयौँ देश घुमे । तर नेपाल जत्तिको सुन्दर कहीँ पाइनँ,’ उनले भने, ‘म आत्मा साक्षी राखेर भन्न चाहन्छु, विवेक कहिल्यै विदेश जान चाहँदैन । मलाई कहिल्यै पनि विदेश जान मन छैन ।’ उनले नेपालीलाई कामकै लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन् । कन्सर्टका लागि साधारण टिकट ३ सय र भिआइपी टिकट १ हजार राखिएको छ । १० हजार भन्दा बढी दर्शकले कन्सर्ट हेर्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs