सिजनको एक महिना अगावै फुल्यो लालिगुराँस

  • कालिका खवर
  • बिहिबार, माघ १८, २०८०
  • गुराँस सामान्यतः फागुन–चैतमा फुल्नुपर्ने हो। तर, यसपटक माघमै फुलेर भोजपुरका उच्च पहाडी भेग ढकमक्क बनेका छन्। केही वर्षयता सिजनअगावै पुस अन्तिमदेखि फुल्ने गरेको स्थानीयवासी बताउँछन्।

    ‘पहिले चैत वैशाखमा गुराँस, चिमालले रंगिने बन अहिले पुस, माघमै रनवन हुने गरेको छ’, टेम्केमैयुङ गाउँपालिका तिम्माका याङमियाङ राईले भने, ‘पहिले यस्तो हुँदैनथ्यो। अहिले हिउँ पर्न पनि छोड्यो। लालीगुराँस पनि पुसमै फुल्न थालेको छ।’

    जलवायु परिवर्तनका कारण पछिल्ला केही वर्षहरूमा बर्सेनि समयअगावै गुराँस फुल्न थालेको स्थानीय युवा अगुवा छिवाबुङबाली राईले बताए। ‘वर्षैपिच्छे मौसममा आउने परिवर्तनका कारण पनि लेकतिरका गुँरासका वनहरू पुस माघमै हराभरा हुन थालेका हुन्’, उनले भने। उनका अनुसार पहिला फागुन अन्त्यतिर मात्रै कोपिला लाग्न थाल्थ्यो। हिजोआज पुसदेखि नै फुल्न थालेका हुन्। मौसम परिवर्तनको असरका कारण यो वर्ष चाँडै गुराँस फुल्न थालेको स्थानीयवासी बताउँछन्।

    यससँगै पर्यटक आगमन बढेको छ। प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुलेको दृश्य नियाल्न मैयुङडाँडा घुम्न आएको सुनिता श्रेष्ठले सुनाइन्। ‘थाहै थिएन यतिबेला पनि गुराँसले डाँडाकाँडा रंगिएको छ भन्ने’, उनले भनिन्, ‘स्वर्गझैं अनुभूति भइरहेको छ।’

    बसन्तयाम सुरु भएसँगै मैयुङ, साल्पा, टेम्केलगायत पर्यटकीय क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुल्ने गरेका छन्। स्थानीयवासीका अनुसार नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये यस क्षेत्रमा अधिकांश पाइन्छन्। मैयुङडाँडा, हाँसपोखरी, जलजले, टेम्के, तीनथुम्की, बाखखोर, सुन्तले लगायतका उच्च भेगतिर लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs