नेपालमा आजदेखि प्रि–मनसुन शुरु

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन १८, २०८०
  • काठमाण्डौ | यस वर्षको हिउँदयाममा औसतको २१ प्रतिशतमात्रै पानी परेकाे छ । नेपालमा डिसेम्बर १ देखि फेब्रुअरी २९ तारिख अर्थात् मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदयाममा औसतमा ६० दशमलव एक मिलिमिटर पानी पर्नुपर्नेमा यो वर्ष १२ दशमलव पाँच मिलिमिटरमात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गएको वर्ष बितेका ३० वर्षमै सुक्खा हिउँद भएकोमा यो वर्ष गएको वर्षको १२ दशमलव नौ मिलिमिटरभन्दा पनि कम वर्षा भएको हो ।

    विभागले यो वर्षको हिउँदमा औसतभन्दा धेरै पानी पर्ने अनुमान गरेको थियो । यस वर्ष नेपालमा हिउँदे वर्षा गराउने प्रणाली भूमध्य सागरबाट उत्पत्ति भए पनि जलवाष्पसहितको वायुलाई नेपालसम्म ल्याइपुर्‍याउने अर्को प्रणाली सक्रिय नभएका कारण कम पानी परेको मौसमविद् गोविन्द झाले बताउनुभयो । यस वर्षको हिउँदमा देशभरि औसतको तुलनामा कम पानी परेकोमा पश्चिमको तुलनामा पूर्वी तराईमा कम पानी पर्‍याे । नेपालमा पछिल्ला वर्षहरूमा हिउँद सुक्खा हुन थालेकाे विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताउनुभयो । २०६२ सालपछिका छ हिउँदमा मात्रै सरदरभन्दा बढी पानी परेको छ । यसपालि हिउँदे वर्षा कम हुँदा हिउँदे बाली सप्रिन पाएन । खोलानालामा पानीको बहाव समेत घट्दा बिजुली उत्पादन घटेको विद्युत् उत्पादकहरूले बताएका छन् ।

    हिउँदमा वर्षा कम हुँदा पानीका स्रोतहरू सुक्ने, जमिन सुक्खा बन्ने लगायतका समस्या हुने मौसमविद् पोखरेल बताउनुहुन्छ । यस्तै हिउँदमा पानी कम पर्दा डढेलोको जोखिम पनि धेरै हुन्छ । यस्तै वायु प्रदूषण बढ्नेलगायतका कारण मानिसको स्वास्थ्यमा पनि नकारात्मक असर गर्ने विज्ञहरू बताउँछन् । नेपालमा आजदेखि प्रि–मनसुन शुरु भएको छ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मे गरी तीन महिनासम्म रहन्छ । प्रि–मनसुनमा दिउँसोपख मेघगर्जनरचट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ । यस्तै अबका तीन–चार महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन माैसमविद्काे आग्रह छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs