भूकम्पमा भत्किएका ७ सय विद्यालय बनाउन बजेट व्यवस्थापन

  • कालिका खवर
  • मङ्लबार, चैत्र १३, २०८०
  • अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण भत्किएका विद्यालय भवन पुनर्निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनर्निर्माण गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

    अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति भएको हो । भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम र बझाङमा गरी ७ सयभन्दा बढी विद्यालय भवन भग्नावशेषमा परिणत भएका थिए । छलफललगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनर्निर्माणमा खर्च गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–१ लामिडाँडा केन्द्रबिन्दु भएर गत १७ कात्तिकमा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    यस्तै, दुई मन्त्रालयबीच आगामी आर्थिक वर्ष ०८१/८२ देखि राष्ट्रपति शैक्षिक सुधार शीर्षकमा बजेट विनियोजन नगर्ने सहमति भएको छ । सरोकारवालाबाटै उक्त कार्यक्रम प्रभावकारी नभएको गुनासो पटकपटक आउने गरेको थियो । यद्यपि, आगामी आर्थिक वर्षमा नवप्रवर्तन शीर्षकमा भने बजेट वृद्धि गरिने अर्थमन्त्री पुनले बताए । ‘परिणाम नदिने खालका कार्यक्रम हटाएर नवप्रवर्तनलगायत नयाँ कार्यक्रममा बजेट बढाउने नीति लिइनेछ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs