पर्यटनमन्त्री किरातीले एक महिनाको तलबसहित दान पेटिकाको सङ्कलन रकम शिक्षा क्षेत्रमा खर्च गर्ने

  • कालिका खवर
  • शनिबार, माघ १४, २०७९
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक महिनाको आफ्नो तलबसहित दान पेटिकामा सङ्कलन भएको रकम शिक्षा क्षेत्रमा खर्च गर्ने बताएका छन् ।

    यही माघ ३ गते पद बहालीका क्रममा माला र खादा लिएर नआउन आफन्त तथा शुभेच्छुकलाई आग्रह गरेका थिए । उनले माला र खादाको खर्च दान पेटिका बनाएर दुर्गम क्षेत्रको शिक्षामा लगानी गर्ने उद्घोष गरेका थिए ।

    दान पेटिका माघ १३ गतेदेखि बन्द गरिएको सामाजिक सञ्जालमार्फत जानकारी गराउदै उनले विदाबाहेक सात दिनमा सङ्कलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर रु छ लाख चार सय ४४ रकम शिक्षामा खर्चिने उल्लेख गरेका हुन् ।

    “आम जनताका लागि केही राम्रो कार्य गर्ने क्रममा बधाई दिन आउने महानुभावबाट खादा र माला लिनुको सट्टा दान पेटिकामा रकम हाल्न भन्यौँ, सङ्कलित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रुपमा दुर्गम क्षेत्रका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिनेछ”, पर्यटनमन्त्रीले उल्लेख गरेका छन् ।

    पर्यटनमन्त्रीको सचिवालयका अनुसार सङ्कलित रकम दुर्गमका विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ । विद्यालयको छनोट गरी चाँडै हस्तान्तरण गरिने जनाइएको छ । उक्त प्रयोजनका लागि आवश्यक कार्यविधि बनाइने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs