डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा मायोपियाको समस्या बढ्दै

  • कालिका खवर
  • आइतवार, जेष्ठ १४, २०८०
  • काठमाडौं । डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा मायोपियाको समस्या बढ्दै गएको पाइएको छ । कम्प्युटर, मोबाइल र भिडियो गेममा धेरै समय बिताउने बालबालिकामा मायोपियाको जोखिम बढ्दै गएको विज्ञको ठहर छ ।

    विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वको आधा जनसंख्यामा मायोपिक हुन सक्ने अनुमान गरेको छ । मायोपिया रहेका आमा–बुवाबाट जन्मिएका सन्तानमा पनि यो समस्या देखिने सम्भावना बढेको विज्ञको भनाइ छ ।

    के हो मायोपिया समस्या ? 
    मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्छन् । सामान्य आँखाले कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा त्यो मानिसको रेटिना (आँखाको दृष्टि पर्दा)मा आएर फोकस हुने गर्छ । तर, मायोपिया भएमा त्यो वस्तु रेटिनाभन्दा अगाडिको भागमा ‘फोकस’ हुन्छ । सोही कारण दृष्टि धमिलो देखिन्छ ।

    नेपालमा सहरी क्षेत्रमा बस्ने १५ वर्षमुनिका १५.५ प्रतिशत बालबालिकामा मायोपियाको समस्या देखिएको छ । ग्रामीण क्षेत्रका बालबालिकामा यो समस्या ८.२ प्रतिशत छ ।

    घण्टौँसम्म मोबाइल, ल्यापटप, टीभीजस्ता डिजिटल माध्यम प्रयोग गर्ने दैनिकीले यो समस्या बढ्दै गएको दृष्टि विशेषज्ञ पंकज राय अधिकारी बताउँछन् । लामो समय घरबाहिरको वातावरणमा काम नगर्दा आँखामा हुने एउटा जोखिमका रूपमा मायोपिया देखापरेको उनको भनाइ छ ।

    मायोपियाबाट बच्न बालबालिकालाई मोबाइलको प्रयोगबाट जोगाउने, दैनिक कम्तीमा दुई घण्टा बाहिरी वातावरणमा खेल्ने व्यवस्था मिलाउने र समय–समयमा नियमित रूपमा आँखा जाँच गराउनुपर्ने अधिकारी बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs