गृहमन्त्री लामिछाने र धरानका मेयर साम्पाङबीच भेट, लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल

  • कालिका खवर
  • आइतवार, चैत्र १८, २०८०
  • काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई भेटेका हुन्।

    भेटका क्रममा उनीहरूबीच लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल भएको छ। देशभरि नै लागु औषध दुर्व्यसनी बढिरहेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउनका लागि आफूले पहल गरिरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो।

    ‘नेपाल भरि लागु औषध दुर्व्यसनीको धेरै नै ठूलो समस्या सिर्जना भइसकेको छ। सबैतिर भएपछि त्यहाँ (धरान) पनि समस्या ठूलै छ,’ उनले छलफलको क्रममा भने, ‘यसमा विशेष अभियान नै चलाएर संयुक्त रूपमा सबै तहका सरकारहरू बसेर संयुक्त प्रयास गर्न पर्छ।’

    उनले लागु औषध दुर्व्यसनीलाई नियन्त्रण गर्न प्रमुख साम्पाङसँग सहयोगको अपिल समेत गरे। त्यसैक्रममा आफूले धरानमा हरेक शुक्रबार ‘सुधारबार’ भनेर अभियान गरिरहेको प्रमुख साम्पाङले बताए।

    ‘९६ हप्ता पुगिसक्यो‍ म माइक बोकेर हिँडेको, हिँडिरहेको छु। प्रत्येक शुक्रबार ‘सुधारबार’ भनेका छौं। त्यो दिन लागुऔषध विरूद्धको सचेतना भेला राख्दै चोकचोकमा कुद्दै आएको दिनदेखि छोडेको छैन,’ साम्पाङले भने।

    अहिले विभिन्न औषधिलाई मिश्रण गरी खाने गरेको पनि उनले सुनाए। यसलाई पनि कडाइ गर्न उनले सुझाव दिएका थिए। त्यसैगरी प्रमुख साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत-साधनको माग गरेका थिए।

    छलफलको क्रममा कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख साम्पाङको गुनासो गरेका थिए। साम्पाङले राखेका गुनासोमा आफू गम्भीर भएको बताउँदै सम्बोधन प्रक्रिया सुरू गर्न कर्मचारीलाई निर्देशन समेत दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs