उपमेयर उम्मेदवार रम्भा मिश्रको घोषणा पत्र सार्वजनिक

  • कालिका खवर
  • शुक्रबार, बैशाख २३, २०७९
  • वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको उपमेयर पदका लागि स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले चुनावी घोषणा पत्र सार्वजनिक गरेकी छन् ।

    शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक भएको मिश्रको घोषणा पत्रमा विभिन्न १० वटा बुँदाहरु समेटिएको छ ।

    घोषणा पत्रमा महिला सशक्तिकरण, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, सरसफाई, कृषि, पूर्वाधार निर्माण, युवा तथा बालबालिका, उद्योग तथा पर्यटन लगायतका बुँदाहरुमा जोडतोडले काम गर्ने विषय उल्लेख छ ।

    घोषणा पत्र सार्वजनिक गर्दै उनले महिला अधिकार, स्वभिमान, आत्मसम्मानको रक्षा एवम् सम्पुर्ण बीरगन्जबासीको उत्थान, बिकासका लागि अवसर दिन अनुरोध गरिन् । महिला उपमेयरमा निर्वाचित हुनुले महिलाहरुको सशक्तीकरण, महिलाका हक अधिकार लगायतको क्षेत्रमा महत्वपुर्ण काम गर्ने उनको भनाई छ ।

    विगत लामो समयदेखि विभिन्न किसिमका सामाजिक संघ संस्थामा आवद्ध भएर समाजमा गर्दै आएका काम र गत निर्वाचनको पराजयले सिकाएको पाठको आधारमा आफ्नो योगदानको मूल्यांकन नगरबासीले गर्नेमा आफू ढुक्क रहेको उनको भनाई छ ।

    स्वच्छ छबि, निःस्वार्थ स्वभाव, इमान्दारिता, निर्भिकता, निष्ठासँगै बित्तिय व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी उनले राजनीतिक दलभन्दा माथि उठेर स्वतन्त्रबाट बीरगन्ज महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी हुन् ।

    लोकतान्त्रिक समाजवादी पार्टीबाट पर्सेली राजनीतीमा सक्रिय उनलाई पार्टीले महानगरमा उपमेयरको टिकट नदिएपछि उनी स्वतन्त्र रुपमा चुनाव लडिरहेकी छन् । मूलधारका राजनीतिक दलहरुले मधेश प्रदेशकै एक मात्र महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनको नाममा महिलाहरुको संवैधानिक सुनिश्चिततालाई कुण्ठित पारेको उनले उल्लेख गरिन् ।

    देशमा भएका थुप्रै व्यवस्था परिवर्तनले अवस्थालाई परिवर्तन गर्न नसकेको बताउँदै उनले व्यवस्था परिवर्तनका लागि गुलाफ चिन्ह् मतदान गरि आफूलाई विजयी बनाउन आग्रह गरेकी छन् ।

    घोषणा पत्रको पूर्णपाठ

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs