सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नासु आज बिदामा बस्ने

  • कालिका खवर
  • मङ्लबार, साउन २४, २०७९
  • सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा  देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्ने  भएका छन् । बजेटमा घोषणा गरेभन्दा  असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गर्ने भएका हुन् ।

    काठमाण्डौ भक्तपुर र ललितपुरका नासुरुहरुले हिजो  सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध आन्दोलन गरेका थिए ।  हिजो पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा बस्न लागेका हुन् । असमान तलब वृद्धिका विरूद्ध र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने मागका सन्दर्भमा आन्दोलन गरिरहेको नेपाल निजामती कर्मचारी युनियनको भनाइ छ ।

    युनियनका महासचिव जनक रावलले मर्यादाक्रम मिलाउने नाममा सरकारले माथिल्लो तहका कर्मचारीको बजेटमा घोषणा गरेभन्दा ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेकोले विरोध गर्नुपरेको बताउनुभयो । बजेटमा व्यवस्था गरेभन्दा बढी बढाउने गरिएको निर्णय फिर्ता लिइएको सरकारले जनाइसकेको भए पनि  बजेटमा घोषणा गरिएअनुसार १५ प्रतिशत तलब बढाउँदा पनि माथिल्ला र तल्लो तहका कर्मचारीबीच तलबमानमा धेरै फरक परेकोले आन्दोलन गर्नुपरेको बताउनुभयो ।

    चालू वर्षको बजेटबाट सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो ।  तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिका कर्मचारीको तलब २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेपछि आफूहरुलाई अन्याय भएको भन्दै नासुहरुले आन्दोलन थालेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs