मेयर धनराजले ल्याए पोखरा सुधारको कार्ययोजना

  • कालिका खवर
  • आइतवार, चैत्र ४, २०८०
  • आइतबार पोखरा शहरलाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । घोषणा कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुअघिको तयारी र घोषणापश्चात पोखरा सुधारको कार्ययोजनासमेत सार्वजनिक गरेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले यो अभियानले समग्र गण्डकी प्रदेश र मुलुककै आर्थिक विकासमा नयाँ आयाम थपिने विश्वास लिएको बताए ।

    ‘विश्वका विभिन्न शहरको आफ्नै विशिष्टता र पहिचानका आधारमा राजधानी घोषणा गर्ने प्रचलित अभ्यास रहेको छ । सोअनुरूप पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा अध्ययन समिति गठन गरिएको थियो,’ उनले भने ।

    उनका अनुसार समितिले विभिन्न सूचकको आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न विद्यमान सबल पक्ष, सुधार गर्नुपर्ने विषय तथा आगामी कार्यदिशाका सम्बन्धमा वस्तुनिष्ठ विश्लेषण गरी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गरेको थियो ।

    पर्यटकीय राजधानी घोषणापश्चात संघीय सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायत स्थानीय तहको आगामी नीति, योजना तथा कार्यक्रममा पर्यटन क्षेत्रले उच्च प्राथमिकता पाउने मेयर आचार्यले बताए ।

    आचार्यले अध्ययन प्रतिवेदनले औंल्याएका विभिन्न तथ्यको ख्याल गर्दै पर्यटकीय राजधानीको विकास र सुदृढीकरणका लागि आवश्यक नीतिगत सुधार, पूर्वाधार विकास, सुशासन प्रवर्द्धनका योजना तथा रणनीति निर्माण गरी कार्यान्वयन गरिने प्रतिवद्वता व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs