होली पर्वको अवसरमा महामुर्खको खोजी हुँदै

  • कालिका खवर
  • शुक्रबार, चैत्र ९, २०८०
  • जनकपुरधाममा महामुर्खको खोजी सुरु भएको छ । होली पर्वको अवसरमा आयोजना गरिने होली महोत्सवमा महामुर्ख पदवी प्रदान गर्ने यहाँको चलन छ । मिथिला नाटयकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सवमा आयोजना गरिने महामुर्ख सम्मेलनका लागि महामुर्खको खोजी सुरु गरिएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो ।

    महामुर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ । मिथिला नाटय कलापरिषद् (मिनाप)ले प्रत्येक वर्ष सम्मेलन आयोजना गर्दै आएको छ । मिनापले प्रत्येक वर्ष मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई महामुर्खसहित विभिन्न व्यङ्ग्यात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ ।

    आपसी भाइचाराका रुपमा लिइएको होली पर्व जनकपुरधाममा हिन्दूसँगै विभिन्न धर्ममा आस्था राख्नेहरुले सँगै मनाउँछन् । मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन सुरु गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले करिब तीन दशकदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।

    फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनापका महासचिव मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताउनुभयो ।

    फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका ग्रामीण समूह सहभागी हुने मिनापका महासचिव मल्लिकले बताउनुभयो । महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । सोअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामुर्खको उपाधि प्रदान गरिन्छ । सोअन्तर्गत महामुर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादित तरकारीको माला लगाइदिने चलन छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs