अध्यात्मवादी परम्पराको असर

  • कालिका खवर
  • आइतवार, बैशाख ९, २०८१
  • कृष्णहरि भट्ट, काठमाडौं । धेरै समय पछि यस्ता विषयसंग लेखिन मन लागिरहेको छ । विषय पुरानो वा सनातन किसिमको भएपनि यो विषय आजपनि समाजमा गडिएर रहेको विषय हो । विषय माथि गम्भीर प्रश्नहरू पनि उठिसकेका हुन र यसको वैज्ञानिक समाधान पनि आइसकेको छ । समाधान पछि मानव समाजले गुणोत्तर प्रगति पनि गरिसकेको छ । सिद्धान्ततहः अवैज्ञानिक सोंच र चिन्तन पद्धतिको विसर्जन पनि गरिसकिएकै हो । तर पनि यसको असर समाजमा मन्द विषको रूपमा रहिरहेको नै छ । नेत्र विज्ञ डा. सन्दुक रुइतको फेसबुक पेजमा ‘समाजमा रहेको अन्धताको अन्त्य गर्न के गर्नु पर्ला’ आसयको प्रश्न दिइएको थियो । त्यसमा मेरो ‘कमेन्ट’ टिप्पणी ‘अध्यात्मवादी परम्परा’ भन्ने थियो । पवित्र मन भएका मित्रहरूले यस विषयमा थप चर्चा गर्नुहोस भनेपछि यो छोटो लेख तयार गर्नै पर्ने अवस्था बनेको हो ।

    के हो अध्यात्मवाद ?

    अध्यात्मवाद भनेको सामन्तवादको जीवन पद्धती÷संस्कृति हो । यो परम्परा गत आत्मा र परमात्माका गुण र तिनको पारस्परिक सम्बन्ध बारे गरिने चिन्तन वा विवेचना अर्थात भित्री ज्ञान वा तत्वज्ञान भनेर बुझिन्छ । खासमा अध्यात्मवाद भनेको यस्तो ज्ञानको निरूपण गर्ने विधा, अन्तिम सत्य वा वास्तविकता परमात्मा भएको र सांसारिक विषयवस्तु झूट र भ्रमपूर्ण भन्ने मान्याता हो । अध्यात्मवादीहरू भनेको यस्ता मान्यताहरूको अनुसरण गर्नेहरू हुन ।
    यसलाई अर्को भाषामा भन्ने हो भने आत्मालाई जगतको मुल तत्व मान्ने सिद्धान्तलाई अध्यात्मवाद भनिएको छ । यो दृष्टिकोण अनुसार जगत झुट मिथ्या हो र आत्मा परमात्मा सास्वत सत्य हो । चेतनाले पदार्थको निर्माण र निर्धारण वा सृष्टि गर्दछ भन्ने यसको मुल सिद्धान्त हो । यो विश्व ब्रह्माण्ड उनै परमात्माले रचना गरेका हुन । जीव, जन्तु, वनस्पती, हावा, पानी, आकास, आगो, धर्ती, जुन तारा आदिआदि सबै उनैको अनुकम्पाले बनेका हुन । हामी प्राणी त निमित्त मात्र हौं नायक त उनै सृष्टि कर्ता हुन । हर्ता र कर्ता पनि उनै हुन भनेर अध्यात्मवाद जन्य शास्त्रहरू भरिएका छन् ।
    यसलाई दैविक सिद्धान्त पनि भनिन्छ । दैवले यो संसारको रचना वा सृष्टि गर्ने इच्छा भएर यो सबै भएको हो । यदि दैवी परमशक्तिको इच्छा वा कल्पना नहुँदो हो त यो मानिस, जीव, जनावर धर्ती, आकाश विश्व ब्रह्माण्ड केही पनि हुने थिएन आदिआदि ।
    यसले विज्ञानले गरेका आविष्कार वा उन्नती प्रगतिहरूलाई झुट, असत्य र मित्थ्या मान्दछ । विज्ञानको स्थानमा प्रेत आत्मा तथा दैवी मान्यतालाई मानेर अन्धविश्वासलाई स्थापित गर्छ ।

    के हो धर्म ?

    आधुनिक परिभाषा अनुसार जुन चिज, वस्तु, चिन्तन वा गुण धारण गर्दछ वा गरिएको छ त्यसलाई धर्म मिनएको छ । जसले निश्चत गुणको निरन्तरता दिन्छ । पुरानो मान्यता अनुसार धर्म भन्नाले धर्मशास्त्र (वेद, उपनिषद, रामायण, महाभारत, गीता, मनुस्मृति, त्रिपिटक, बाइवल, कुरआन जस्ता) ले भनेका कुरा मान्नेहरूलाई धार्मिक वा अध्यात्मवादी भनिन्छ भने नमान्नेलाई अधर्मी वा नास्तिक वा भौतिकवादी भनिन्छ । धर्म अधर्मसंग सम्बन्धित विषय हो । अधर्म भन्नाले दैवी शक्तिको विरोधी हुनु, ईश्वरीय शक्तिलाई नमान्नु, आत्मा र परमात्माको निन्दा गर्नु, धर्मग्रन्थहरूको उलङ्घन गर्नु आदि रहेका छन् । तथ्य बोल्नु, तथ्यमा आधारित भएर कार्य गर्नु पनि अधर्म मानिएको छ । स्वतन्त्रताको कुरा र कार्य गर्नेहरूलाई अधर्मी भनिएको छ ।
    धर्म वास्तवमा सनातनकालदेखि चल्दै आएको अकाट्य मान्यता प्रणाली हो जस माथि प्रश्न उठाउन निषेध छ । धर्म र धर्मजन्य क्रियाकलाप विरुद्ध हुनु भनेको घोर अपराध हो । पाप हो र मुर्खता हो ।
    अध्यात्मवादको दुई धार

    अध्यात्मवादको अभ्यास युरोप र पूर्वीय मुलुकहरूमा फरक छ । युरोपेली अध्यात्मवादले राज्यलाई चर्च अन्तरगत राखेको छ । राज्य र भगवान वीचको कार्यमा भगवानको प्रतिनिधिको रूपमा पोपले काम गर्दथे । यसरी पोपले चर्चको अधिनस्त राज्य हुनु पर्दछ भन्ने सिद्धान्त प्रतिपादन गरेका थिए । यस्तो सिद्धान्त विरुद्ध युरोपमा १ हजार वर्ष भन्दा लामो संघर्ष चलेको थियो । यसरी युरोपमा चर्चका पोपहरूको प्रत्यक्ष शासन र शोषण चलिरहेको थियो । पुनर्जागरणको संघर्षले चर्चको प्रत्यक्ष शासन र शोषणलाई अप्रत्यक्ष गरिदियो । जो अहिलेपनि विभिन्न आवरणमा चर्च आधारित देशहरूमा पोपहरूको हालिमुहाली चलिरहेकै छ । बाइबलले एकदेव मान्दछ धेरै विभेद गर्दैन । बाँकी सन्दर्भहरू त उस्तै उस्तै नै हुन ।
    पूर्वीय मुलुकहरूमा राजालाई भगवानको प्रतिनिधि भएको मानेको छ । राजालाई बिष्णु भगवानको अवतारको रूपमा मानिएको छ । र राज्य धर्मका मान्यतामा आधारित रहेका छन् । यसको पनि आफ्नै धार्मीक विधान रहेको छ । वेद पुराणहरूले ३३ कोटी देवीदेवताको परिकल्पना गरेको छ र मानवीय जीवनलाई विभेदले भरिपूर्ण गरिदिएको छ । उचनीचको व्यवस्थाले भरिभराउ छ ।
    दुबै धारको समानता भनेको परमात्मा परमेश्वर अन्धविश्वास, पुनर्जन्म, भाग्यवाद, रुढीवादमा आधारित हुनु हो । मानिसलाई अयोग्य, तुच्छ, वेसाहारा मान्नु अध्यात्मवादी दर्शनको चुरो कुरा रहेका छन् ।
    आधुनिक मानव जातिको १० हजार वर्ष यताको समयमा धार्मीक मान्यताहरू शुरु भएको ६ हजार देखिको मानिएको छ । यो सबै अवधि अवैज्ञानिकता विरुद्धको वैज्ञानिक खोज र आविस्कारको अवधि हो । १९ औं सताव्दीमा आइपुग्दा मात्र वैज्ञानिक चिन्तन पद्दती स्थापित हुन सक्यो । यो भन्दा अगाडि भौतिकवादी चिन्तन पद्धती निर्माण भएपनि त्यो चिन्तन द्वन्द्ववादी थिएन । जसका कारण खुद भौतिकवादी अपलव्धी पनि आदर्शवादी हुन पुग्यो । त्यसै गरी द्वन्द्ववादी चिन्तन पद्धती निर्माण भए तापनि त्यो भौतकवादी थिएन । जसका कारण द्वन्द्ववाद आदर्शवादी नै बन्न पुगेको थियो । यस्तो चिन्तनमा अर्थात दृष्टिकोणमा रहेको त्रुटि÷दोषको समाधान गरेर द्वन्द्वात्मक भौतिकवादी चिन्तन प्रणाली वा दृष्टिकोणको सिद्धान्तको स्थापना भएपछि मात्र मानव समाज विकासले नयाँ गति पाएको हो ।
    अध्यात्मवादको असर

    समकालिन विश्व मानव समाजको मुख्य समस्या भनेकै अध्यात्मवाद र यसले निर्माण गरेको अलौकिक शक्ति ईश्वर परमेश्वरवादी शोषण र विभेद नै हो । यसले निर्माण गरेका श्रृखलाबद्ध भ्रमको जालमा मानव समुदाय निरन्तर अल्झि रहेको छ । आजको समयमा यसरी अल्झाइ रहने मुल प्रवृत्ति भनेको विश्व पूँजीवाद नै हो । मरिसकेको अध्यात्मवादसंग पूँजीवादले सम्झौता गरेका कारणले यस्तो भएको हो । पूँजीवादले अध्यात्मवादी÷सामन्तवादी शोषण विभेद र उत्पीडनमा श्रमलाई मान्यता दियो । जसका कारण विभेदमा कमी आयो तर शोषण र उत्पीडन भने नयाँ स्तरमा देखा प¥यो । यसले समाजमा झन ठूलो असन्तोष पैदा गरिदियो । जसका कारण नयाँ खाले युद्ध अर्थात व्यापारिक युद्धमा समाजलाई पुराइयो । पुरानो खाले युद्ध भनेको दास, जमीन, पशु, अन्न, स्त्री, औजार आदि आफ्नो नियन्त्रणमा राख्न हुन्थ्यो । नयाँ युद्ध आफ्ना श्रमिकहरूले तयार गरेका विक्री योग्य सामग्रीको बजारका लागि हुन्थ्यो । नाफाको सुनिश्चितताका लागि हुन्थ्यो । जे होस, युद्ध त जस्ले गरे पनि विनास हुनु हो । जस्को भएपनि नास हुनु हो, क्षति हुन हो । यो तथ्यलाई अनुसरण गर्न सकेको भए हाम्रो समाज प्रगतिको शिखरमा जाने थियो । यदी पूँजीवादले यसो नगरेको हुन्थ्यो भने आज संसारमा युद्ध हुने थिएन । असमानता हुने थिएन । विभेद हुने थिएन । लुछाचुडी हुने थिएन । तेरोमेरोको अन्त्य हुने थियो । सबैले आफ्ना योग्यता, विचार क्षमता अनुसारका काम गरेर जीवनयापन झन सरल र सुखमय बनाइरहेका हुन्थ्ये । तर आजको समाजमा धनी झन धनी हुँदै गइरहेके छ । गरिव झन गरिव हुँदै गइरहेको छ । साधन, श्रोत र अबसरमाथिको पहुँचमा झन संकुचन बढेको छ । जसका कारण मानिसहरू झन आत्तिएका छन् । हतासिएका छन् र निराशावाद तिर जाँदै छन् ।
    मुलतः अध्यात्मवाद भनेको अयोग्यतावाद हो । यो युगौंदेखि चलिआएको छ । योग्यता (तथ्य) मा आधारित वैज्ञानिक विचारधारा प्रादुर्भाव भएको दुई सय वर्ष पनि पुगेको छैन । विज्ञान र प्रविधिको विकास त भयो । यो क्षेत्र पनि उही नाफाखोरहरूकै नियन्त्रणमा छ । त्यस समाजको रूपान्तरणको प्रकृयामा सकारात्मक गति दिने कार्यलाई रोक्ने नै हो । र पनि कसैले विज्ञान र प्रविधिको उपयोगलाई केही समय रोक्न खोजे पनि मानव जातिको स्वतन्त्रताको उडानलाई सधैलाई रोक्न भने सक्ने छैनन् ।

    आजको मानिसको मति

    जसरी सामन्तवादको अस्तित्व धर्ममा आधारित अन्धविश्वास र जमिनमा आधारित शोषणमा हुन्छ, त्यसैगरी पूँजीवादको अस्तित्व पनि पूँजी र पूँजीमा आधारित शोषण मै हुन्छ । विज्ञानले त प्रगति गरेकै छ तर प्रगतिको प्रतिफल मुठ्ठिभर मानिसको हातमा नियन्त्रित छ । यस्तो हुनुको मुल कारण भनेको मानिसहरूको हातखुट्टामा विज्ञानका उपलव्धीहरू छन् तर दिमागमा भने अविज्ञानै अविज्ञान भरिएको छ । त्यो अविज्ञानको बुइ चढेर पूँजीवादले आफ्नो अस्तित्व रक्षा गरिरहेकोछ । अर्थात पूँजीवादले सामन्तवादसंग सम्झौता गरेर दलाल पूँजीवाद वा साम्राज्यवाद निर्माण गरेर पूँजीलाई नै अन्तिम सत्य मानेर मानव समाजलाई नै कैद गरेको छ । यो कैदखानाबाट मुक्त हुन मानव समाज छटपटाइ रहेको छ ।

    समस्याको पहिचान

    आजको आधुनिक मानव समाजको आधार पुरानै मानव समाजको निरन्तरको विकास र रूपान्तरणको आधार हो । जसरी आदिम साम्यवादी समाजवाद दास समाजको विकास देखियो त्यसैगरी दास समाज भित्रबाट सामन्ती समाज बनेको हो । सामन्ती समाजकै गर्भबाट पूँजीवादी समाज हुर्केको हो । पूँजीवादी समाज अर्थात उत्पादन सम्बन्धले समाजवादी समाज वा उत्पादन सम्बन्ध विकास गर्नु पर्नेमा पूँजीवादी र सामन्तवादीहरूले एकआपसमा सम्झौता गरे । त्यो सम्झौताले मानव समाज विकास क्रममा ठूलो बेमेल खडा गरिदियो । ठूलो भ्रम निर्माण गरिदियो । यो भ्रमको जगमा निर्माण भएको उपभोक्तावादी संस्कृतिले पुरानो युगको भन्दा धेरै गुणा माथिको मानव जातिलाई हिंस्रक बनाइ दियो । बारम्बारको युद्धको अवस्थाबाट गुज्रन बाध्य बनाइ दियो । पैसा, पद, प्रतिष्ठालाई मुख्य बनाइयो ।

    मानव समाज के चाहन्छ ?

    हरेक मानिस चाहन्छ कि आफुमाथि शोषण नहोस, विभेद नहोस । यो पृथ्वी हामी सबै जीवहरूको साझा घर हो । मानिसले मानिस माथि गर्ने सबै प्रकारका शोषण विभेद र हिंसा नगरोस । सबैका रुचि योग्यता क्षमता अनुसारको कार्य गर्न पाओस । आवश्यकता अनुसारको उपभोग गर्न पाओस । नयाँ नयाँ अन्वेषणमा नयाँ नयाँ कीर्तिमान कायम गर्न सकोस ।

    कसरी समाधान हुन्छ ?

    अध्यात्मवादी र द्वन्द्वात्मक भौतिकवादी दुई विश्वदृष्टिकोण रहेका छन् । अध्यात्मवादको जग समाउदै पूँजीवादमा जोल्ठीएको शिविरले युद्ध चाहन्छ । मात्र युद्ध । किन भने युद्धमा नै यसको अस्तित्व टिकेको हुन्छ । द्वन्द्वात्मक भौतिकवादको जगमा अगाडि बढेको शिविरले मानवीय कमजोरीहरू हटाउने उपायहरू सिकाउदछ र अझ प्रगतिशील समुन्नत मानव समाजको बाटो देखाउदै सबै प्रकारका युद्धहरूको समुल नष्ठ गरेर प्रगति, उन्नतीको मार्ग प्रसस्त गर्दै बास्तविक शान्ति स्थापना गर्ने हुन्छ । शोषण र विभेदको उन्मुलन गरिएको सामाजिक न्याय, स्वतन्त्रता, भातृत्व र मानवतामा आधारित वैज्ञानिक दृष्टिकोणमा आधारित समतामुलक समाज निर्माणका लागि वैज्ञानिक दृष्टिकोणमा आधारित राज्यसत्ता स्थापना गर्नु नै सबै भन्दा ठूलो समाधान हो । आजको विश्व व्यवस्था र समाजको मुल अन्तरविरोध पनि यही हो ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs