नर्वेमा सन् २०२२ मा बिक्री भएका कारमध्ये ७९ प्रतिशत विद्युतीय कार रहेका छन् । १० वर्षअघिसम्म कुल बिक्रीको दुई दशमलव ९ प्रतिशत मात्रै विद्युतीय कार रहेको नर्वेमा एक दशकमै विद्युतीय कारका उपभोक्ता निकै धेरै बढेका हुन् ।
नर्वे सरकारले सन् २०१७ मा विद्युतीय कारमा विभिन्न सहुलियत दिएपछि विद्युतीय कारका उपभोक्ता बढेका वर्ल्ड इकोनमोमिक फोरमले जनाएको छ । नर्वे सरकारले सन् २०२५ भित्र पेट्रोल र डिजलबाट चल्ने कारको बिक्री अन्त्य गर्ने लक्ष्यसहित विद्युतीय गाडीमा सहुलियत दिएको थियो ।
नर्वे सरकारले विद्युतीय कार खरिद र बिक्रीमा लाग्ने करमा छुट दिएको छ भने विद्युतीय कार धनीले सडक कर तिर्नु पर्दैन । यस्तै सरकारले देशभर १६ हजारभन्दा धेरै सार्वजनिक चार्जिङ स्टेसन स्थापना गरेको छ । अहिले नर्वेका सडकमा ६ लाखभन्दा धेरै विद्युतीय कार गुड्छन् ।
विश्वमा सन् २०२१ मा ६६ लाख विद्युतीय कार बिक्री भएका छन् । यो विश्वमा बिक्री भएका कारको १० प्रतिशत हो । विश्वमा बिक्री हुने विद्युतीय कारको एक चौथाइ उत्पादन चीनमा हुने गरेको छ ।