नागरिकतामा भएको अपमानजनक नाम सच्याउनका लागि निवेदन

  • कालिका खवर
  • मङ्लबार, साउन २४, २०७९
  • नागरिकतामा भएकाे अपमानजनक नाम सच्याउनका लागि जिल्ला प्रशासन कार्यालय दैलेखमा आज मङ्गलवार निवेदन दर्ता भएकाे छ । नागरिकतामा भएकाे ‘कुकुर कामी´ नामले अपमान भएकाेले कविराम कायम गरी नागरिकता पाऊँ भन्दै भगवतीमाई गाउँपालिका ३ मेहेलतोलीका कविराम कामीले निवेदन दर्ता गराउनुभएको हाे ।

    नाम कविराम हो भन्दा भन्दै त्यस बेला गाउँका केही व्यक्तिले जिस्काएर भनेको भरमा प्रधानपञ्चले सिफारिस गरेको आधारमा नागरिकता टोलीले दिएको नागरिकतामा ‘कुकुर कामी’ लेखिएको र यसले आफूलाई अपमान बोध भएको निवेदनमा उल्लेख गरिएको छ ।

    ‘त्यस बेलाको शोषण दमनकारी शैलीबाट नागरिकतामै अपमान बोधक नाम लेखिएको कुरा आमसञ्चारमाध्यममा चर्चाको विषय बनेपछि गृह मन्त्रालयले सोमवार मात्रै पहिले वितरित नागरिकतामा त्यस्ता अपमान बोध गराउने नामहरू सच्याउन गरेको परिपत्रको आधारमा मैले सिफारिस गरेको हुँ’, भगवतीमाई गाउँपालिका ३ का अध्यक्ष मानबहादुर खड्काले बताउनुभयो ।

    कविरामको निवेदन पेस भएलगतै गृह मन्त्रालयमा परामर्श गरेको र मन्त्रालयको परिपत्रले विधि, प्रक्रिया पूरा गरी नागरिकताकाे नाम सच्याउन भनेकोले छिटै कविराम कामी कायम गरी नागरिकता दिइने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

    कविरामकाे नागरिकतामा ‘कुकुर कामी’ नाम लेखिएको विषय सुरुमा उज्यालो अनलाइनमा प्रकाशित भएपछि अरू सञ्चारमाध्यममा पनि यस्तै विषयका समाचार सार्वजनिक भएका थिए । यस विषयमा सांसदहरूले आवाज उठाएका थिए र सामाजिक सञ्जालमा पनि बहसको विषय बनेपछि गृह मन्त्रालयले नयाँ नागरिकतामा अपमानजनक नाम नराख्न र पहिले वितरण भएका नागरिकतामा नाम सच्याउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs