घरमा कुश भित्र्याएर कुशे औँसी मनाइँदै : आज बुबाको मुख हेर्ने दिन

  • कालिका खवर
  • बिहिबार, भदौ २८, २०८०
  • हरेक वर्ष भदौ कृष्णपक्षको औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदै छ ।

    कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।

    सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

    यस्तै, पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । बुबा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।

    आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाण्डाैको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीकाे नामले पनि चिनिन्छ ।

    यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि मेला लाग्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs