कोरोनाको नयाँ भेरिएन्ट : के छ सरकारको तयारी ?

  • कालिका खवर
  • आइतवार, पुस ८, २०८०
  • काठमाडौँ । पछिल्लो समय प्रकाशमा आएको कोरोना भाइरसको नयाँ भेरिएन्ट चाँडो फैलिए पनि कम असर गर्ने चिकित्सकले बताएका छन् । कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन.१ को सङ्क्रमण भारत, बेलायत, न्युजिल्यान्ड लगायत विभिन्न मुलुकमा देखा परेको छ ।

    यो भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा गम्भीर हानि पुर्‍याएको पुष्टि नभएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । नयाँ भेरिएन्टलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कम घातक वर्गमा राखेको उनले उल्लेख गरे । ‘डब्लुएचओले नयाँ भेरिएन्टलाई कम घातकको वर्गमा राखेको छ,’ उनले भने, ‘हालसम्मको जानकारी अनुसार डराउनुपर्ने स्थिति देख्दिनँ तर सावधानी अपनाउनुपर्छ ।’

    भाइरसका कुनै भेरिएन्ट कडा हुने र कुनै कम घातक हुने भएकाले बेवास्ता गर्न नहुने डा. पुन बताउँछन् । ‘ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिका अझ बढी सजग रहनुपर्छ,’ उनले  भने, ‘कुन उमेर समूहका मानिस बढी प्रभावित भन्ने रिपोर्ट भइसकेको छैन । तैपनि उहाँहरूले सजगता पुर्‍याएकै राम्रो हुन्छ ।’

    कोरोनाको नयाँ भेरिएन्ट भारतमा देखिएकाले नेपालमा पनि जोखिम रहेको वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बताए । ‘नेपाल र भारतबिच खुला सीमाना भएकाले जोखिम उच्च छ,’ उनले रातोपाटीसँग भने, ‘नेपालमा भारतबाट दैनिक लाखौँ मानिसको ओहोरदोहोर हुन्छ, त्यसकारण जोखिम पनि बढी छ ।’

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा भारतको केरला राज्यमा सो भेरिएन्ट देखिएकाले नेपालमा कम जोखिम रहेको उल्लेख गरे । ‘नेपालको सिमाना नजिकै भए हालसम्म नेपालमा पनि फेला परिसक्थ्यो,’ उनले , ‘हालसम्म नेपालमा सो भेरिएन्ट देखिएको छैन । डराउनु भएन तर सतर्क हुनुपर्‍यो ।’

    नयाँ भेरिएन्ट के हो ?

    कोभिड–१९ को विभिन्न प्रजाति देखा पर्न थालेका छन् । त्यहीमध्येको एक हो नयाँ भेरिएन्ट जेएन.१ । कोभिड–१९ भाइरसको ओमिक्रोन प्रजातिको उपप्रजाति जेएन.१ भएको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बताए । जुन ओमिक्रोनको नयाँ म्युटेसन भएर बनेको हो ।

    नयाँ भेरिएन्टको लक्षण फरक छ ?

    कोरोनाको नयाँ भेरिएन्टको लक्षण ओमिक्रोनको जस्तै देखिने चिकित्सकले बताएका छन् । डा. पुनका अनुसार टाउको दुख्ने, नाकबाट पानी बग्ने, हाछ्यू आउने लगायतका लक्षण देखिन्छ ।

    जनस्वास्थ्यविद् डा. मरासिनीले हावापानी अनुसार भाइरसको लक्षण फरक–फरक देखिने बताए । ‘देश र मौसम अनुसार भाइरसको लक्षण फरक–फरक हुन्छ,’ उनले भने ।

    प्रवक्ता डा. बुढाथोकीले कोरोना भाइरस सङ्क्रमण हुँदा श्वासप्रश्वास सम्बन्धी समस्या देखिने बताए । ‘कोरोना महामारीमा श्वासप्रश्वासका बिरामी बढेका थिए,’ उनले भने, ‘अहिले पनि चीन, भारतमा श्वासप्रश्वास सम्बन्धी बिरामी बढेका छन् ।’

    सङ्क्रमण हुनबाट कसरी जोगिने ?

    जेएन.१ भाइरसको सङ्क्रमण घातक नभए पनि सङ्क्रमण हुनबाट जोगिन विज्ञहरूले सुझाएका छन् । जनस्वास्थ्यविद् डा. मरासिनीले पछिल्लो समय आम मानिसले कोरोना सङ्क्रमणबाट बच्नका लागि अपनाइने मापदण्ड पालन नगरेको बताए । ‘मास्क लगाउने, दुरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुने, कोरोना विरुद्धको खोप नलगाएकाले पूर्ण डोजको खोप लगाउनु पर्‍यो,’ उनले भने, ‘जाडो सिजन छ, दुरी कायम गर्नुपर्‍यो, एक ठाउँमा झुम्मिएर आगो ताप्न भएन ।’

    के छ सरकारको तयारी ?

    कारोनाको नयाँ भेरिएन्ट जेएन.१ को सङ्क्रमण भएका व्यक्ति नेपालमा हालसम्म फेला नपरेको मन्त्रालयले जनाएको छ । सो रोग फैलिन नदिनका लागि सीमानाका कडा पारिएको डा.बुढाथोकीले बताए । पछिल्लो समय चीन र भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वास सम्बन्धी रहेकाले सीमा नाकामा सो समस्या भएका व्यक्ति फेला परेमा निगरानी गरिने उनको भनाइ छ ।

    ‘देशभरका सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कमा तालिम प्राप्त स्वास्थ्यकर्मी खटाएका छौँ,’ उनले भने, ‘कोरोना भाइरसका कारणले श्वासप्रश्वास सम्बन्धी समस्या हुन्छ, सो खालका बिरामी फेला परेमा उहाँहरूको हिस्ट्री अध्ययन गर्न, क्वारेन्टाइनमा राख्न भनेका छौँ ।’कोरोना महामारीका समयमा तयार गरिएको उपचार कक्ष, अक्सिजन, भौतिक पूर्वाधार तयारी रहेको उनले दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs