पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स मात्रै २ अर्ब ७८ करोड, कति छ जग्गा ?

  • कालिका खवर
  • बिहिबार, पुस १२, २०८०
  • काठमाडौँ । हिन्दुहरूको प्रमुख आस्थाको केन्द्रको रुपमा रहेको पशुपतिनाथ मन्दिरको भेटी, भाडा तथा बैंक व्याजबाट उठेको कूल २ अर्ब ७८ करोड रुपमा बैंकमा मौज्दात रहेको छ ।

    बिहीबार प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले कोषका नाममा खोलिएका विभिन्न बैंकका खातामा मुद्दती, अक्षयकोष र बचत रकम गरी सो मात्राको रकम रहेको जानकारी दिए । चल्ती र बचत खातामा ४१ करोड रुपैयाँ रहेको छ भने अक्षयकोष तथा मुद्धति खातामा २ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

    पशुपतिको जग्गा एयरपोर्टसम्म रहेको र त्यहाँ नागरिक उड्डयन प्राधिकरणले जग्गा प्रयोग गरेकोले त्यसबापत १ करोड रुपैयाँ वार्षिक भाडा आउने उनले जानकारी गराए । यस्तै तारागाँउ विकास समितिले वार्षिक ४९ हजार ६ रोपनि जग्गा भाडा बापत दिने गरेको उनले उल्लेख गरे ।पशुपति क्षेत्र घुम्न आउने तेस्रो मुलुकका पर्यटकबाट मात्रै  दैनिक ५ देखि ६ लाख रुपैयाँसम्म भेटी संकलन हुने खत्रीले जानकारी दिए । दैनिक भेटी पर्यटनबाट र पशुपति क्षेत्रका सटर पसल भाडाबाट आएको रकम नै आम्दानीको मुख्य स्रोत रहेको उनले बताए । दैनिक भेटी संकलन गर्न ९ वटा घ्याम्पा राखिएको र हरेक दिन गनेर बैंकमा जम्मा गर्ने गरिएको खत्रीले जानकारी गराए ।

    कति छ पशुपतिनाथको जग्गा ?

    समितिको बैठकमा सांसदहरुले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुलाई पशुपतिनाथको नाममा कति जग्गा रहेको छ भनेर प्रश्न गरेका थिए । तर सदस्यसचिव राजकुमार खत्रीले हालसाविकको क्रममा रहेकोले जग्गा कति छ भन्ने यकिन विवरण आउन बाँकी रहेको बताए । उनले यसअघि कायम भएको जग्गा विवरण अनुसार त्रिभुवन विमानस्थलमा ११ सय ६१ रोपनी १४ आना ३ पैसा जग्गा रहेको जानकारी दिए । यस्तै तारा गाउँ विकास समितिमा १७ रोपनी, पशुपति क्षेत्र विकास कोषले अधिग्रहण गरेको १५ सय ५ रोपनी २ आना २ पैसा, कोषको गोठाटारमा ५३५ रोपनी, मठ मन्दिर, शिवालय ११९ रोपनी १५ आना २ दाम र महास्नान गुठीको १२ सय ४१ रोपनी १ आना २ दाम जमिन रहेको बताए ।

    कोषले काठमाडौँमा जयबागेश्वरीमा प्राचीन पोखरी पत्ता लगाएको खत्रीले बताए । साढे ६ रोपनी प्राचीन पोखरी रहेको जग्गा पत्ता लगाएको बताउँदै सो पोखरी रहेको जग्गामा केही व्यक्तिले घर खाली गरिसकेको र केही घर खाली गर्न बाँकी रहेको जानकारी गराए । घर खाली गराएर कोषले पोखरी बनाउने खत्रीले जानकारी दिए । उनले कर्मचारी व्यवस्थापनमा समस्या रहेको समितिमा जानकारी गराए ।मुख्य लेखा अधिकृत नभएको र नियम अनुसार करारमा केही जनशक्ति राख्ने गरिएको बताए । बैंकहरुले व्यवस्था गरिदिएका ६० जना सरसफाईकर्मी रहेको खत्रीले जानकारी गराए ।पशुपति क्षेत्रमा भाडामा लगाउनका लागि ३८ वटा पसल तयार रहेको र १६४ वटा फूल पसल संचालन गर्न लागिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs